१४औँ धरान १०के रन : पुरुषतर्फ नरेन्द्र र महिलातर्फ सन्तोषी च्याम्पियन
काठमाडौँ, फागुन ९ । सुनसरीको धरानमा आयोजित ‘१४औँ धरान १०के रन’ (१० किलोमिटर दौड) को उपाधि पुरुषतर्फ नरेन्द्रसिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठले हात पार्नुभएको छ । प्रतियोगितामा नरेन्द्रसिंह रावतले निर्धारित १० किलोमिटरको दूरी ३१ मिनेट ५१ सेकेण्डमा पार गर्दै प्रथम स्थान हासिल गर्नुभयो । त्यस्तै, महिलातर्फ चर्चित धाविका सन्तोषी श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जित्नुभयो । उपाधिसँगै दुवै विजेताले जनही ६० हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
प्रतियोगिताको पुरुषतर्फ जुलियस मर्युकीले ३१ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गर्नुभयो भने महिलातर्फ ४१ मिनेट ४४ सेकेण्डको समयसहित पुष्प सेर्मा दोस्रो हुनुभयो । दोस्रो हुने खेलाडीहरूले जनही ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।
यसैगरी, पुरुषतर्फ अमिर लिम्बूले ३२ मिनेट ५० सेकेण्ड र महिलातर्फ प्रिया क्षेत्रीले ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान सुरक्षित गर्नुभयो । उहाँहरू दुवैलाई जनही ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
धरानमा हरेक वर्ष आयोजना हुने यो दौड प्रतियोगिताले स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीहरूलाई प्रोत्साहन गर्दै आएको छ । यस वर्षको संस्करणमा पनि स्वदेशी तथा विदेशी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।