सुनको मूल्यमा पुन: वृद्धि, एकैदिन तोलामा ५६ सय रुपैयाँ बढ्यो

काठमाडौँ, १० फागुन । नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आइतबार एकैदिन सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य स्थिर रहेको थियो ।

सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । शुक्रबार प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३ सय ७५ रुपैयाँले बढेर ५ हजार ४ सय २५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो । महासङ्घका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार १०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।