सेयर बजारमा लगातार गिरावट : नेप्से २७ अङ्कले घट्दा कारोबार रकम साढे ६ अर्बमा सीमित
काठमाडौँ, १० फागुन । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक सूचक (नेप्से) दोहोरो अङ्कले घटेको छ । गत साता खुलेका दुवै दिन घटेको बजारले आइतबार पनि सोही निराशाजनक लयलाई निरन्तरता दिएको हो ।
आइतबार नेप्से परिसूचक २७.५९ अङ्कले घटेर २६१४.५५ विन्दुमा झरेको छ । समग्र बजार घट्दा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३.२७ अङ्क, फ्लोट इन्डेक्स १.६६ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१६ अङ्कले ओरालो लागेका छन् ।
परिसूचकसँगै आइतबार कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । अघिल्लो कारोबार दिन (गत मङ्गलबार) ८ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आइतबार कारोबार रकम ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ । यस दिन ३२४ कम्पनीका १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर कुल ७२ हजार १०४ पटक किनबेच भएका थिए ।
समग्र बजार राताम्मे हुँदा पनि सालपा विकास बैंकको सेयरमा भने सकारात्मक सर्किट (१० प्रतिशतको हाराहारीमा वृद्धि) लागेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ३६ रुपैयाँ ३० पैसाले बढेर ३९९ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
यता, बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य सर्वाधिक ८.९२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो । यस कम्पनीको ६३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी, रिडी पावर डेभलपमेन्टको साढे ३७ करोड र एसवाई प्यानल नेपालको साढे ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक घटेका छन् । जसमध्ये ‘व्यापार’ उपसमूहको सूचक सबैभन्दा धेरै ३.५९ प्रतिशतले ओरालो लागेको छ ।