आइसिसी टि२० विश्वकप क्रिकेटको सुपर आठमा इङगल्यान्डको चम्किलो सुरुआत

क्यान्डी (श्रीलङ्का), फागुन १० गते । आइसिसी टि२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा इङगल्यान्डले सहआयोजक श्रीलङ्कालाई ५१ रनले सजिलै पराजित गरेको छ । टि२० मा इङगल्यान्डले श्रीलङ्कालाई लगातार १२ खेलमा हराएको हो । दुई पटकको विजेता इङल्यान्डले पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । श्रीलङ्का सामान्य स्कोर पछयाउने क्रममा १६.४ ओभरमा ९५ रनमै अलआउट भयो ।

इङगल्यान्डका लाग प्रारम्भिक ब्याट्सम्यान साल्टले ४० बलमा छ चौका र दुई छक्कासहत सर्वाधिक ६२ रन बनाए । विल ज्याक्सले अन्तिम ओभरतिर तेज गतिमा २१ रनको पालि खेले । अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । श्रीलङ्काका लागि वेलालागेले सर्वाधिक तीन र डिलसन मधुसंका तथा महेश थिकानाले दुई–दुई विकेट लिए ।

श्रीलङ्काका लागि कप्तान डासुन सनाकाले सर्वाधिक ३० रन बनाए । इङगल्यान्डका स्पीनरहरुले मिलेर सात विकेट लिएर इङगल्यान्डको पालि कमजोर पारेका हुन् । अफ स्पीनर ज्याक्सले चार ओभरमा मात्र २२ रन खर्चेर तीन ब्याट्सम्यानलाई आउट गरे । ज्याक्स अलराउन्ड प्रदर्शनपछि म्यान अफ दि म्याच पनि चुनिए ।