शेयर बजारमा लगातार तेस्रो दिन वृद्धि : नेप्से २६४८ विन्दुमा, साढे ४ अर्बको कारोबार

काठमाडौँ, १३ फागुन । साताको चौथो कारोबार दिन बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले वृद्धिको लयलाई निरन्तरता दिएको छ। अघिल्ला दुई कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से आज १०.३० अंकले बढेर २६४८.९० विन्दुमा पुगेर बन्द भएको हो।

समग्र बजारको सूचकसँगै आज कारोबार रकममा पनि सामान्य सुधार आएको छ। मङ्गलबार ४ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बुधबार कारोबार रकम ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँ पुगेको छ।

नेप्सेका अनुसार आज ३३३ वटा कम्पनीका १ करोड ४ लाख ५६ हजार कित्ता सेयर ४८ हजार ६४० पटक खरिदबिक्री भएका छन्। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२० अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.८५ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४४ अंकले उकालो लागेको छ।

बुधबार दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ९ प्रतिशत र सुपरमाई हाइड्रोपावरको ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। उता, हिमालयन पावर पार्टनरका लगानीकर्ताले भने आज सर्वाधिक ५.९८ प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा आज जलविद्युत कम्पनीहरू अग्रस्थानमा रहेका छन्। २८ करोड ६९ लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच हुँदै आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। त्यस्तै, ङादी ग्रुप पावरको साढे २५ करोड र एसवाई प्यानल नेपालको २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

बजारमा कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० वटाको परिसूचक बढेको छ भने ३ वटाको घटेको छ।