चैत २० गते २०औँ एनएनआइपिए स्पोट्र्स अवार्ड हुने : पहिलोपटक उपत्यकाबाहिर आयोजना गरिँदै
काठमाडौँ, फागुन १४ । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) को आयोजनामा प्रदान गरिने ‘२०औँ एनएनआइपिए स्पोट्र्स अवार्ड’ आगामी चैत २० गते आयोजना हुने भएको छ । एनएनआइपिएका महासचिव शिवसुन्दर गोथेका अनुसार यस वर्षको अवार्ड कार्यक्रम काभ्रेको बनेपा नगरपालिकास्थित चण्डेश्वरी मन्दिर परिसरमा सञ्चालन गरिनेछ । अवार्डको इतिहासमा काठमाडौँ उपत्यका बाहिर कार्यक्रम आयोजना हुन लागेको यो पहिलो पटक हो। स्थानीय आयोजकका रूपमा बनेपा नगरपालिका रहेको छ ।
यस वर्ष २७ वटा विभिन्न खेलका उत्कृष्ट खेलाडीहरूलाई अवार्डद्वारा सम्मान गरिने आयोजकले जनाएको छ। त्यसैगरी, वर्षका एक–एक जना सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडी र प्रतिभाशाली खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
पुरस्कारको अन्य विधाअन्तर्गत एक जना पाका खेल व्यक्तित्वलाई ‘गजराज जोशी आदर्श खेल व्यक्तित्व’ सम्मान प्रदान गरिनेछ भने एक जना पारा खेलाडीलाई पनि विशेष सम्मान गरिने कार्यक्रम छ । खेलकुद क्षेत्रको समाचारमा योगदान पुर्याउने एक जना खेल पत्रकारलाई ‘एनएनआइपिए खेल पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिने महासचिव गोथेले जानकारी दिनुभयो ।