इरानमा अमेरिका र इजरायलको हवाई आक्रमण: स्कुलमा मिसाइल खस्दा १०८ सहित देशभर २०१ जनाको मृत्यु
एजेन्सी, १७ फागुन । अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा गरेको संयुक्त हवाई आक्रमणका कारण इरानमा भीषण मानवीय क्षति भएको छ। दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरको एक विद्यालयमा तीनवटा मिसाइल खस्दा कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
इरानभर शनिबारदेखि जारी हवाई आक्रमणमा हालसम्म २०१ जनाको मृत्यु भइसकेको छ भने ७४७ जना घाइते भएका छन्। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई ‘जङ्गली कार्य’ को संज्ञा दिँदै यसलाई आक्रमणकारीहरूको अपराधको इतिहासमा अर्को एउटा कालो पाना थपिएको टिप्पणी गर्नुभएको छ।
आक्रमणको मुख्य निशाना इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) को क्याम्प रहेको बताइएको छ। मिसाइल खसेको विद्यालय सो क्याम्पबाट करिब ६०० मिटरको दूरीमा रहेको थियो। यद्यपि, इजरायल र अमेरिकाले विद्यालयमा भएको आक्रमणबारे हालसम्म कुनै आधिकारिक पुष्टि गरेका छैनन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक आक्रमणमै इरानका सर्वोच्च नेता अली खामेनी र उनका कैयौँ वरिष्ठ कमाण्डरहरू मारिएको दाबी गर्नुभएको छ। तर, यस दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार इरानमा विदेशी पत्रकारहरूलाई भिसाको कठिनाइ रहेकाले क्षतिको वास्तविक तथ्याङ्क सङ्कलन गर्न चुनौती भइरहेको छ। यद्यपि, प्राप्त भिडियो क्लिपहरूमा भवनहरूबाट धुवाँ उडिरहेको र मानिसहरूको चित्कार सुनिएको छ। इरानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस त्रासदीप्रति आक्रोश व्यक्त गर्दै बालबालिकाको सुरक्षा गर्न नसकेको भन्दै शासनको पनि आलोचना गरिरहेका छन्।