शेयर बजारमा दोहोरो अङ्कको सुधार : नेप्से १९ अङ्कले बढ्दा साढे ५ अर्ब बढीको कारोबार
काठमाडौँ, १७ फागुन । शेयर बजार मापक नेप्से परिसूचकमा आज दोहोरो अङ्कको सुधार आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक १९.२७ अङ्क अर्थात् ०.७२ प्रतिशतले बढेर २,६७४.२० को बिन्दुमा पुगेर बन्द भएको हो।
परिसूचक बढेसँगै कारोबार रकममा पनि उत्साह देखिएको छ। आज बजारमा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको कुल कारोबार भएको छ। नेप्सेका अनुसार दिनभरिमा ३४१ वटा कम्पनीका १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक खरिदबिक्री भएका थिए। आज बजारमा कारोबारमा आएका सबै समूहका उपसूचकहरूमा हरियाली छाएको (बढेको) छ।
आजको बजारमा सलपा विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट (९.९९ प्रतिशतको वृद्धि) लागेको छ। अर्कोतर्फ, आज बजारमा सबैभन्दा बढी गुमाउनेमा हिमस्टार ऊर्जा कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन्, जसको शेयर मूल्य ४.१६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। यस कम्पनीको सर्वाधिक ३६ करोड ५ लाख ३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यसैगरी, कारोबार भएको शेयर सङ्ख्या (कित्ता) का आधारमा अपि पावर कम्पनी लिमिटेड पहिलो नम्बरमा देखिएको छ। अपि पावरको आज सबैभन्दा बढी १० लाख ४९ हजार ८४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।