राष्ट्रिय लिग फुटबल : चित्लाङलाई हराउँदै एनआरटीको पाँचौँ जित
काठमाडौँ, फागुन १७ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न प्रतिस्पर्धामा एनआरटीले चित्लाङ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १०औँ मिनेटमा राजीव लोप्चनले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३७औँ मिनेटमा एनआरटीका खेलाडी सनम सोदेम्बा लिम्बूबाट आत्मघाती गोल हुन पुगेपछि खेल १-१ गोलको बराबरीमा आएको थियो ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको एनआरटीका लागि ५४औँ मिनेटमा टिमोथी चिएमेरिए ओकेरेकेले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । उक्त गोल नै खेलको निर्णायक गोल साबित भयो ।
यस जितसँगै एनआरटीले जारी लिगमा पाँचौँ जित दर्ता गरेको छ । ९ खेल खेलेको एनआरटीले १९ अङ्क जोड्दै तालिकामा आफ्नो स्थिति बलियो बनाएको छ । अर्कोतर्फ, पराजित चित्लाङ फुटबल क्लबको यो चौथो हार हो । समान ९ खेलबाट चित्लाङको ७ अङ्क मात्र रहेको छ ।