साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण: विष्फोटपछि आगलागी, खाडीमा रहेका नेपाली त्रसित
रियाद, १९ फागुन (एजेन्सी) । साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासलाई निशाना बनाएर ड्रोन आक्रमण भएको छ । साउदी रक्षा मन्त्रालयका अनुसार दुईवटा ड्रोनले दूतावासको भवनमा प्रहार गरेका हुन् ।
आक्रमणपछि दूतावास परिसरमा ठुलो विष्फोटको आवाज सुनिएको थियो भने आकाशमा कालो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक विज्ञप्ति जारी गर्दै आक्रमणका कारण भवनमा सामान्य क्षति पुगेको र आगलागी भएको पुष्टि गरेको छ । यद्यपि, उक्त भवन पहिल्यै खाली गराइएकाले मानवीय क्षति भने हुन नपाएको जनाइएको छ ।
गत शनिबार इजरायल र अमेरिकाले इरानमाथि गरेको आक्रमणमा सर्वोच्च नेता अली खामेनी मारिएको दाबी सार्वजनिक भएपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य ठेगाना र इजरायलमाथि प्रत्याक्रमण सुरु गरेको छ । यसै श्रृङ्खलामा अमेरिकी दूतावासलाई निशाना बनाइएको विश्लेषण गरिएको छ ।
क्षेत्रीय सुरक्षामा आएको गिरावटसँगै साउदी अरबमा रहेको अमेरिकी मिशनले जेद्दा, रियाद र धहरानमा बसोबास गर्ने आफ्ना नागरिक र सर्वसाधारणलाई ‘घरमै सुरक्षित रहन’ विशेष अपिल गरेको छ । केही दिनअघि यूएईको विमानस्थलमा भएको यस्तै ड्रोन आक्रमणमा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएपछि खाडीमा कार्यरत लाखौँ नेपाली कामदारहरू यतिबेला थप त्रसित बनेका छन् । निरन्तर बज्ने खतराको साइरन र आकाशमा देखिने ड्रोनका कारण नेपाली समुदायमा कोलाहल मच्चिएको छ ।