इलाम–२ मतगणना अपडेट: एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै, १८३६ मतले अगाडि

इलाम, २३ फागुन । इलाम क्षेत्र नं. २ मा भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई निरन्तरता दिनुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार, २४ हजार ७०४ मतगणना सम्पन्न हुँदा नेम्वाङले ८ हजार २८० मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गर्नुभएको छ। उहाँलाई श्रम संस्कृति पार्टीका सुदीप राईले ६ हजार ४४४ मतका साथ पछ्याइरहनुभएको छ। नेम्वाङ र राईबीचको मतान्तर १ हजार ८३६ रहेको छ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य ४ हजार ३४६ मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई २ हजार २२४ मतका साथ चौथो स्थानमा हुनुहुन्छ।

मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलका अनुसार हालसम्म चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ। अहिले माङसेबुङ गाउँपालिकाको मतगणना सुरु गरिएको छ। यसपछि क्रमशः देउमाई नगरपालिका र इलाम नगरपालिकाको मतगणना गरिने कार्यतालिका छ।

गौतमबुद्ध सभागृह (सिटी हल) मा भइरहेको मतगणनामा सुरक्षा व्यवस्था कडा पारिएको छ। यस निर्वाचन क्षेत्रमा कूल १ लाख १९ हजार ४८९ मतदाता रहेकोमा ५६ प्रतिशत अर्थात् ६६ हजार ९३४ मत खसेको थियो। निर्वाचनमा विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्र गरी जम्मा १४ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ।