भारत टि२० विश्वकप च्याम्पियन

काठमाडौँ, २४ फागुन । भारतले आइतबार न्युजिल्यान्डलाई ९६ रनले हराएर आइसिसी टि२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रङगशालामा एक लाखभन्दा बढी दर्शकको उपस्थितिबिच भारत च्याम्पियन बनेको हो । भारतले तेस्रो पटक टि२० विश्वकपको उपाधि जितेको हो । सन् २००७ मा भारतले पहिलो पटक टि२० विश्वकप जितेको थियो । भारतले १७ वर्षपछि सन् २०२४ मा दक्षिण अफ्रिकालाई हराएर दोस्रो पटक टि२० विश्वकप जित्यो । न्युजिल्यान्डको भने पहिलो पटक च्याम्पियन बन्ने सपना पूरा भएन । सन् २०२१ मा पनि न्युजिल्यान्ड फाइनल अस्ट्रेलियासँग निराश बनेको थियो ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारीत २० ओभरमा पाँच विकेटको क्षतिमा २५५ रनको विशाल स्कोर बनायो । भारतका लागि सञ्जु सामसनले सर्वाधिक ८९ रन बनाए । इशान किसनले ५४ र अभिषेक शर्माले २१ बलमा ५२ रनको पालि खेले । शिभम दुवेले पनि आठ बलमा अविजित २६ रन बनाए ।

न्युजिल्यान्ड जवाफमा एक ओभर बाँकी छँदै १५९ रनमा अलआउट भयो । तेज बलर जस्प्रित बुमराहले चार ओभरमा मात्र १५ रन खर्चेर चार विकेट लिएपछि न्युजिल्यान्डको पालि धराशायी भयो । स्पीनर अक्सर पटेलले पनि तीन विकेट लिए । न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान पटम सिफर्टले २६ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर ५२ रन बनाए सान्तनरले ४३ रनको पालि खेले ।

बुमराह म्यान अफ दि म्याच, सञ्जु प्लेअर अफ दि टुर्नामेन्ट

यस विश्वकपमा भारतकै सञ्जु प्लअ‍ेर अफ दि टुर्नामेन्ट र बुमराह प्लेअर अफ दि म्याच बने । सञ्जुले लगातार तीन अर्धशतक बनाएर भारतलाई फाइनलमा पुर्याएका हुन । सञ्जुले पाँच खेलमा ८०.२५ रनको औसत र १९९.३७ को स्ट्राइक रेटमा कूल ३२१ रन बनाए ।

बुमराह फाइनलमा चार विकेट लिएर सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिए । बुमराह र भारतकै स्पीनर वरुण चक्रवतीले सर्वाधिक १४–१४ विकेट लिए । पाकिस्तानका साहिबजाद फरहान शीक्र्ष रनकर्ता बन्नुभयो । उहाँले सर्वाधिक ३८३ रन बनाए ।

भारतलाई ३० लाख अमेरिकी डलर

च्याम्पियन भारत ट्रफीसहित ३० लाख अमेरिकी डलर पुरस्कारको हकदार बन्यो । जुन अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो । उपविजेता न्युजिल्यान्डले १६ लाख अमेरिकी डलरमा चित्त बुझायो । यसैगरी आइसीसीले समूह चरणबाट विदा हुने टिमहरुलाई प्रदान गरिने दुई लाख ५० हजार अमेरिकी डलर नेपालले पनि प्राप्त गरेको थियो । यस विश्वकपमा नेपालले इङगल्यान्ड, वेस्ट इन्डिज र इटालीसँग हार वेहोरेको थियो भने स्कटल्यान्डलाई पराजित गरेको थियो ।