निर्वाचनपछिको शेयर बजारमा उछाल : बजार खुल्नासाथ नेप्सेमा ‘सकारात्मक सर्किट’
काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि पहिलो पटक खुलेको शेयर बजारमा उत्साहजनक उछाल आएको छ। बिहीबार कारोबार सुरु भएको केही बेरमै परिसूचकमा भारी वृद्धि भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘सकारात्मक सर्किट’ लागेको छ।
नेप्सेका अनुसार आज बजार खुलेको एक मिनेटभित्रै परिसूचक १०८ दशमलव ६० अङ्कले माथि उक्लिएको थियो। सुरुवाती समयमै समग्र बजारमा ४ प्रतिशतको वृद्धि देखिएपछि नियमअनुसार २० मिनेटका लागि शेयर कारोबार स्थगित गरिएको थियो। चुनावपछिको नयाँ माहोलले लगानीकर्तामा सकारात्मक मनोविज्ञान परेको र बजारमा खरिदकर्ताको चाप बढेको यसले सङ्केत गरेको छ।
शेयर बजारमा अत्यधिक उतारचढाव नियन्त्रण गर्न नेप्सेले ‘सर्किट ब्रेक’ को व्यवस्था लागु गर्दै आएको छ। विद्यमान व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटका लागि कारोबार बन्द गर्ने प्रावधान रहेको छ।
यसैगरी, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेटका लागि कारोबार रोकिन्छ भने तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतको उतारचढाव आएमा त्यस दिनको बाँकी पूरै समयका लागि कारोबार स्थगित गरिने नेप्सेको नियमावलीमा उल्लेख छ।