शेयर बजारमा ऐतिहासिक उछाल : नेप्सेमा लाग्यो दोस्रो ‘सकारात्मक सर्किट’
काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा निर्वाचनको मतपरिणामसँगै पुँजी बजारका लगानीकर्तामा उच्च उत्साह थपिएको छ। सोमबार कारोबार सुरु भएको केही बेरमै नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि सेयर बजारमा दोस्रो ‘सकारात्मक सर्किट ब्रेक’ लागेको छ। नियमअनुसार दोस्रो सर्किट लागेसँगै सेयर कारोबार ४० मिनेटका लागि स्थगित भएको छ।
नेप्सेका अनुसार सोमबार बजार खुलेको एक मिनेटभित्रै ४ प्रतिशतले परिसूचक बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार रोकिएको थियो। बजार खुलेलगत्तै पुनः थप १ प्रतिशत (समग्रमा ५ प्रतिशत) को वृद्धि देखिएपछि दोस्रो सर्किट लागेको हो।
दोस्रो पटक कारोबार रोकिँदासम्म नेप्से परिसूचक १३५ अङ्कको छलाङ मार्दै २८४८ को बिन्दुमा पुगेको छ। छोटो समयको यस कारोबार अवधिमा २८ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।