महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिर बिहान ५ बजेदेखि दर्शनका लागि खुला हुने
तलेजु भवानीको मन्दिर
काठमाडौँ, कात्तिक २ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर महानवमीका अवसरमा भोलि मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाले आज सरोकार भएका निकायसँग गरेको छलफलमा मन्दिर दर्शन तथा पूजा आराधनाका लागि खुला गर्ने निर्णय गरेको हो । अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने मन्दिरमा बिहानैदेखि भक्तजनले दर्शन गर्न पाउने जानकारी दिनुभयो ।
महानवमीका दिन खुला हुने तलेजु भवानी मन्दिरमा दर्शनका लागि हरेक वर्ष हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यस मन्दिरमा महानवमीका दिन पूजा तथा दर्शन गर्न भक्तजनको विशेष घुइँचो लाग्ने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको साइतअनुसार गत असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे तुलजा भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । सोही दिन बिहान १०ः३९ बजे देवीलाई स्थिरासन गराइएको थियो ।
महाअष्टमीका अवसरमा आज राति मूलचोकमा तलेजु भवानीको कालरात्रि पूजा गरिँदैछ । हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार कालरात्रि पूजाका क्रममा ५४ बोका र ५४ राँगाको बलिसहित विशेष पूजाआराधना गरिनेछ ।
विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर पूजाआराधना गरिनेछ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन समितिले निर्धारण गरेको साइतअनुसार बिहान १०ः५१ बजे देवीलाई यात्रा गराइनेछ भने बिहान ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम रहेको छ ।
