वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकद्वारा नेपाललाई सात अर्ब बढी ऋण स्वीकृत

काठमाडौँ, २७ फागुन । नेपालको वायु प्रदूषण न्यूनीकरण तथा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले विश्व बैंकले रु सात अर्ब सात करोड २० लाख बराबरको ऋण सहायता स्वीकृत गरेको छ ।

वासिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपाल क्लिन एयर एन्ड प्रोस्पेरिटी प्रोजेक्ट’ सञ्चालनका लागि उक्त रकम अनुमोदन गरिएको जनाएको हो ।

यो परियोजना विशेषगरी वायु प्रदूषणको उच्च जोखिममा रहेको काठमाडौँ उपत्यका र तराईका केही क्षेत्रहरूमा केन्द्रित रहनेछ ।

बैंकका अनुसार यस आयोजनाअन्तर्गत देशका करिब ४ सय वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूलाई स्तरोन्नति गरी धुवाँरहित (उत्सर्जनमुक्त) बनाउने लक्ष्य राखिएको छ । यसले ती क्षेत्रको वायुको गुणस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।

यस बहुआयामिक परियोजनाको कार्यान्वयन भने नेपाल सरकारका दुई छुट्टाछुट्टै मन्त्रालयमार्फत हुनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले संयुक्त रूपमा यस आयोजनालाई अगाडि बढाउने विश्व बैंकले जनाएको छ ।