सुनको मूल्य तोलामा दुई हजारले बढ्यो, चाँदी भने स्थिर
काठमाडौँ, २७ फागुन । स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि हिजो (मङ्गलबार) छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य आजकै जति अर्थात् ५ हजार ७ सय २० रुपैयाँ थियो । त्यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २ सय र सेतो धातु (चाँदी) को मूल्य ५ हजार ४ सय १० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
स्थानीय बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको कारोबारमा उतारचढाव देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार २ सय १० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।