शेयर बजारमा लगातार दोस्रो दिन गिरावटः नेप्से ४६ अङ्कले घट्दा कारोबार १३ अर्बमा खुम्चियो
काठमाडौँ , २७ फागुन । बुधबार शेयर बजार (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । अघिल्लो कारोबार दिन (मङ्गलबार) घटेर बन्द भएको बजारले बुधबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिँदै भारी अङ्कको गिरावट भोगेको हो ।
यस दिन नेप्से परिसूचक ४६.७८ अङ्कले घटेर २७९६.५७ विन्दुमा ओर्लिएको छ । समग्र बजार मापन गर्ने नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ पनि ८.३२ अङ्कले घटेको छ । त्यस्तै, फ्लोट इन्डेक्स ३.२४ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स २.९४ अङ्कले ओरालो लागेका छन् ।
नेप्से परिसूचक घटेसँगै बुधबार कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । मङ्गलबार २१ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार जम्मा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
आज कुल ३२९ वटा कम्पनीका ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर १ लाख १५ हजार ५५० पटक खरिदबिक्री भएका छन् ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बुधबार १२ वटा उपसमूहको परिसूचक घटेर राताम्मे भएका छन् भने ‘म्युचुअल फन्ड’ उपसमूहको परिसूचक मात्र सामान्य बढेको छ ।
यस दिन व्यापार (ट्रेडिङ) उपसमूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो उपसमूह सर्वाधिक ३.४० प्रतिशतले घटेको छ । त्यस्तै, वित्त (फाइनान्स) उपसमूह २ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
समग्र बजार घटे पनि सालपा विकास बैंकका लगानीकर्ताले भने राम्रो नाफा कमाएका छन् । यो बैंकको शेयरमूल्यमा आज सकारात्मक सर्किट (सर्वाधिक वृद्धि) लागेको छ । प्रतिकित्ता ७८ रुपैयाँ ४० पैसाले बढेर बैंकको अन्तिम कारोबार मूल्य ८६२ रुपैयाँ ४० पैसा कायम भएको छ ।
त्यसैगरी, नेसनल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिङ मिल्सको ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यता, कालिका पावर कम्पनीका लगानीकर्ताले भने सर्वाधिक ८.४७ प्रतिशतले गुमाएका छन् ।
कारोबार रकमका आधारमा बुधबार जलविद्युत् कम्पनीहरूको वर्चस्व देखिएको छ । आज रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको मात्रै ८५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
त्यसैगरी, आँखुखोला जलविद्युत् कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढी र नेसनल हाइड्रोपावरको साढे ४९ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।