बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि किन्न नलगाउन स्वास्थ्य बिमा बोर्डको निर्देशन

काठमाडौँ, २८ फागुन । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपचार गराउन आउने बिरामी (बीमित) लाई अस्पताल बाहिरका फार्मेसीबाट औषधि खरिद गर्न नलगाउन सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, पछिल्लो समय केही अस्पतालले बिमा प्याकेजअन्तर्गत उपलब्ध गराउनुपर्ने औषधि र औषधिजन्य सामग्रीसमेत बिरामीलाई बाहिर नगद तिरेर किन्न लगाउने गरेको गुनासो बढेपछि यस्तो निर्देशन जारी गरिएको हो ।

“बीमित बिरामीलाई उपचार गरेसँगै बाहिरबाट औषधि खरिद गर्न लगाइएको व्यापक गुनासो आएको छ,” सूचना अधिकारी मल्लले भने, “यस्तो कार्य तत्काल रोक्न र बीमितलाई बाहिर औषधि किन्न बाध्य नपार्न भन्दै हामीले सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई परिपत्र गरेका छौँ ।”

कुनै पनि अस्पताल वा स्वास्थ्य संस्थाले बिमा सुविधाभित्र पर्ने सामग्री बाहिरबाट किन्न लगाएमा त्यसलाई कानुनविपरीत ठहर गरिने बोर्डले प्रष्ट पारेको छ । यस्तो कार्य ‘स्वास्थ्य बिमा ऐन, २०७५’, ‘स्वास्थ्य बिमा नियमावली, २०७५’ तथा प्रचलित निर्देशिका र कार्यविधिको ठाडो उल्लङ्घन भएको मल्लले बताए ।

निर्देशनको अवज्ञा गरी बिरामीलाई बाहिर औषधि किन्न पठाउने अस्पताललाई स्वास्थ्य बिमा नियमावली, २०७५ को नियम १८ को उपनियम (१) को खण्ड (क) बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत बोर्डले दिएको छ ।

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० रुपैयाँ योगदान रकम (प्रिमियम) तिरेबापत एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप ७०० रुपैयाँ बुझाउनुपर्ने र सोबापत बिमा सुविधा रकममा पनि प्रतिसदस्य २० हजार रुपैयाँका दरले थपिने प्रावधान रहेको छ ।