आजदेखि बजारमा आधा सिलिन्डर ग्यास वितरण गर्ने भनिएपनि नेशनल ट्रेडिङमा यस्ताे छ उपभोक्ताकाे लाइन
काठमाडौँ, २९ फागुन । पछिल्लाे मध्यपूर्वमा जारी तनाव र युद्धका कारण पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा परेको यो प्रभावका कारण नेपालमा पनि ग्यासको आयात र मौज्दातमा दबाब परेको निगमले जनाएको छ ।
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि नेपाल आयल निगमले आज (शुक्रबार) देखि आधा सिलिन्डर मात्र ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको छ । तर उपभोक्ताले भने सहजै ग्याँस पाउनसक्ने अवस्था देखिँदैन ।
नेसनल ट्रेडिङ्ग लिमिटेड टेकुमा विहानदेखि लाइनमा बसेका उपभोक्ताहरू रित्ताे सिलिण्डर सार्दै केहि दिनदेखि ग्यास नपाएकाे गुनासाे ब्यक्त गर्छन् । केही उपभोक्ताहरू त अझै ग्यास नपाएर बाहिरकाे खाना खाइरहेकाे दुखेसाे पाेख्छन् ।
निगमको पछिल्लो निर्णयअनुसार अब उपभोक्ताले प्रति सिलिन्डर ७.१ किलो मात्र ग्यास प्राप्त गर्नेछन् । आपूर्ति सहज नभएसम्मका लागि यो व्यवस्था लागू गरिएको हो । आधा सिलिन्डर ग्यासको मूल्य प्रति सिलिन्डर ९५५ रुपैयाँ तोकिएको छ ।