भद्रपुरमा सर्वाधिक ११ लाख रुपियाँ पुरस्कार राशिको अन्तर्राष्ट्रिय महिला फुटबल गोल्डकप आयोजना हुने

काठमाडौँ, चैत १ । झापाको भद्रपुरमा ११ लाख रुपियाँ नगद पुरस्कार राशिको ‘अन्तर्राष्ट्रिय नकआउट महिला फुटबल गोल्डकप’ प्रतियोगिता आयोजना हुने भएको छ । चन्द्रगढी युवा क्लबको आयोजनामा आगामी २०८३ वैशाख ५ देखि १४ गतेसम्म मेची रङ्गशालामा यो भव्य प्रतियोगिता सञ्चालन हुने भएको हो । क्लबका अध्यक्ष रोहित सुब्बाका अनुसार प्रतियोगिताको विजेता टोलीले ११ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ। महिला फुटबलको इतिहासमा नेपालमा यति ठूलो राशिको नगद पुरस्कार प्रदान गर्न लागिएको यो पहिलोपटक भएको आयोजकको दाबी छ। यस प्रतियोगिताको मुख्य प्रायोजन भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलले गर्ने भएको छ ।

प्रतियोगितामा नेपालका शीर्ष क्लबहरूका साथै भारत र भुटानका फुटबल टोलीहरू गरी कुल १० वटा टिमको सहभागिता रहने निश्चित भइसकेको छ । आयोजकले अन्य देशका टिमहरूलाई पनि सहभागी गराउने प्रयास जारी राखेको जनाएको छ ।

झापालाई महिला फुटबलको केन्द्र (हब) का रूपमा स्थापित गर्ने र फुटबलमा भविष्य खोजिरहेका महिला खेलाडीहरूलाई थप प्रोत्साहित गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताका लागि हाल मेची रङ्गशालाको मैदानमा आवश्यक पूर्वाधार र व्यवस्थापकीय तयारी तीव्र पारिएको छ ।