बर्दिया निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता, खोजी तीव्र
सुर्खेत, २ चैत्र । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना सम्पर्कविहीन भएका छन्। आइतबारदेखि बेपत्ता भएका उनीहरूको प्रहरीले खोजी कार्य तीव्र पारेको छ।
बेपत्ता हुनेहरूमा सुर्खेतको बराहताल गाउँपालिका–१, ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती र ३० वर्षीय सुनिल समसेली रहेका छन्। यसैगरी, लेकवेशी नगरपालिका–८, गङ्गटे घर भई हाल बर्दिया बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि बेपत्ता भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजङ्ग बुढ्थापाका अनुसार, आइतबार साँझ ५ बजेतिर उनीहरू सिकार खेल्न गएको र बेपत्ता भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचना पाउनसाथ खोजी कार्यका लागि प्रहरी सहायक निरीक्षक (असई) टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली परिचालन गरिएको डीएसपी बुढ्थापाले जानकारी दिए। घटना बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको भएकाले खोजी तथा अनुसन्धानमा समन्वय गर्न जिल्ला प्रहरी कार्यालय बर्दियालाई पनि पत्राचारसहित जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ।