सुर्खेतमा दुई छोराछोरीसहित आमा बेपत्ता, भेरी किनारमा भेटिए कपडा र मोबाइल
सुर्खेत, २ चैत्र । सुर्खेतको गुर्भाकोट नगरपालिका–११, पिप्लेकी एक महिला आफ्ना दुई छोराछोरीसहित सम्पर्कविहीन भएका छन्। बेपत्ता आमाको सामान भेरी नदी किनारमा फेला परेपछि घटना थप रहस्यमय बनेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजङ्ग बुढ्थापाका अनुसार स्थानीय माया कठायत आफ्नी ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपकसहित आइतबार बिहानदेखि बेपत्ता भएकी हुन्।
आइतबार साँझसम्म पनि उनीहरू घर नफर्किएपछि श्रीमान् भूपेन्द्र कठायतले खोजीका लागि प्रहरी चौकी गुमीमा निवेदन दिएका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको टोली, वडाध्यक्ष र स्थानीय बासिन्दाले तत्कालै खोजी कार्य सुरु गरेका थिए।
खोजी गर्ने क्रममा घरभन्दा करिब तीन किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गर्ने झोला, सल, चप्पल र एउटा मोबाइल फोन फेला परेको डीएसपी बुढ्थापाले जानकारी दिए।
नदी किनारमा सामान भेटिएकाले उनीहरू नदीमा खसेको वा अन्य कुनै दुर्घटनामा परेको हुनसक्ने आशङ्का गरिएको छ। हाल बेपत्ता तीनै जनाको खोजीका लागि विभिन्न इलाका प्रहरी कार्यालयबाट ३५ जना प्रहरी र स्थानीय बासिन्दालाई भेरी नदी र आसपासका क्षेत्रमा व्यापक रूपमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।