शेयर बजारमा गिरावट : नेप्से २६ अंकले घट्दा कारोबार ११ अर्ब ९७ करोडमा सीमित

काठमाडौं, २ चैत्र । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई दिन लगातार बढेको बजार यस दिन भने २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा पुगेकाे छ।

नेप्सेसँगै सोमबार कारोबार रकममा पनि कमी आएको छ। आइतबार १४ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा सोमबार करिब सवा २ अर्बले घटेर ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको मात्रै खरिदबिक्री भयो।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ३४५ वटा कम्पनीका ३ करोड ७ लाख ९० हजार कित्ता सेयर १ लाख २ हजार ७५९ पटक किनबेच भएका छन्। बजार घटेको दिन सेन्सेटिभ इण्डेक्स ६.३८ अंक, फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले घटेका छन्।

समग्र बजार ओरालो लागे पनि सोमबार ४ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, होटल फरेष्ट इनको सेयर मूल्य करिब १० प्रतिशत र पिपुल्स हाइड्रोपावरको साढे ६ प्रतिशतले बढेको छ। सोमबार मूल्य घट्ने कम्पनीहरूको अधिकतम गिरावट दर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा सोमबार आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको सर्वाधिक ६८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यस्तै, नेशनल हाइड्रोपावरको ६६ करोडभन्दा बढी र अपर हेवाखोला हाइड्रोपावरको साढे ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सोमबार एउटाको मात्र परिसूचक बढेको छ भने बाँकी १२ वटै उपसमूह घटेर राताम्मे भएका छन्। उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य अंकको सुधार देखिँदा बैंकिङ, लगानी र ‘अन्य’ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।