इरानमाथिको आक्रमणपछि मध्यपूर्वमा २०० अमेरिकी सैनिक घाइते, मृतकको सङ्ख्या १३ पुग्यो
एजेन्सी, ३ चैत्र । संयुक्त राज्य अमेरिका र इजरायलले गत फेब्रुअरी २८ देखि इरानमाथि सुरु गरेको व्यापक सैन्य कारबाहीयता मध्यपूर्वका विभिन्न देशमा करिब २०० अमेरिकी सैनिक घाइते भएका छन्।
अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम) का प्रवक्ता टिम हकिन्सले सोमबार यसको पुष्टि गर्नुभएको हो। प्रवक्ता हकिन्सका अनुसार इरान लक्षित आक्रमण सुरु भएयता बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) मा तैनाथ अमेरिकी सैनिकहरू विभिन्न घटनामा परी घाइते भएका हुन्।
घाइतेमध्ये १० जना सैनिकको अवस्था गम्भीर रहेको छ भने १८० भन्दा बढी सैनिकहरू भने सामान्य उपचारपछि आफ्नो नियमित जिम्मेवारीमा फर्किसकेका छन्।
यसैबीच, पश्चिमी इराकमा अमेरिकी सेनाको ‘केसी–१३५’ (KC-135) इन्धन आपूर्ति गर्ने विमान दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनासँगै पछिल्लो तनावका क्रममा मृत्यु हुने अमेरिकी सैनिकको कुल सङ्ख्या १३ पुगेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।
अमेरिका र इजरायलले इरान लक्षित संयुक्त आक्रमण तीव्र पारेसँगै मध्यपूर्वमा युद्ध फैलिने जोखिम बढेको छ। यसले समग्र क्षेत्रीय सुरक्षामा गम्भीर तनाव उत्पन्न गर्नुका साथै मानवीय सङ्कट र चुनौतीहरूलाई थप गहिरो बनाएको छ।