२४ घण्टामा हावाहुरी र चट्याङबाट तीन जनाको मृत्यु

काठमाडौँ, ३ चैत । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका विपद्जन्य घटनामा परी तीन जनाको मृत्यु भएको छ । मौसममा आएको परिवर्तनसँगै चलेको हावाहुरी र चट्याङका कारण उनीहरूको ज्यान गएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरी, चट्याङ र असिनापानीबाट देशभरका ३० जिल्ला प्रभावित भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हावाहुरीका कारण दुई जना र चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार यस अवधिमा कुल ४१ वटा विपद्जन्य घटनाहरू दर्ता भएका छन् । जसमध्ये हावाहुरीका १७ र चट्याङका ५ वटा घटना मुख्य रहेका छन् । यी घटनाहरूमा परी ५ जना घाइते भएका छन्, जसमा तीन जना चट्याङबाट र दुई जना हावाहुरीका कारण चोटपटक लागेका व्यक्तिहरू छन् ।

विपद्का कारण ६ वटा पशुचौपाया मरेका छन् भने भौतिक संरचनामा समेत क्षति पुगेको छ । प्राधिकरणको प्रारम्भिक विवरणअनुसार यी घटनाहरूबाट ९ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

नेपालमा पछिल्लो एक सातादेखि मौसमी प्रणालीमा आएको फेरबदलका कारण हावाहुरी, चट्याङ र असिनापानीको क्रम जारी छ । जल तथा मौसम विज्ञान विभागले यो मौसमी अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान गरेको छ । प्राधिकरणले हावाहुरी र चट्याङको समयमा सुरक्षित स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ ।