पिएम कप क्रिकेट गण्डकी छनोट : नवलपुरलाई हराउँदै कास्की लगातार दोस्रो पटक च्याम्पियन
काठमाडौँ, चैत ३ । पोखरामा सम्पन्न ‘प्रधानमन्त्री कप (पिएम कप) क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगिता’ को उपाधि घरेलु टोली कास्कीले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा नवलपुरलाई ४८ रनले पराजित गर्दै कास्की लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । कास्कीले अघिल्लो वर्ष पनि यो उपाधि आफ्नो पोल्टामा पारेको थियो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४० रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । कास्कीको जितमा ओपनर अर्जुन कुमालले सानदार शतकीय इनिङ खेले । उनले १३१ बलको सामना गर्दै १११ रन जोडे । यस्तै, सुभास भण्डारीले ४२ रन र अन्तिम समयमा आक्रामक ब्याटिङ गरेका कृष्ण पौडेलले १४ बलमा २७ रनको योगदान दिए ।
बलिङतर्फ नवलपुरका अपराजित पौडेल र कमल परियारले समान २–२ विकेट तथा मुन्ना नेपाली र सुदीप अर्यालले १–१ विकेट लिएका थिए ।
२४१ रनको विजयी लक्ष्य पछ्याएको नवलपुर ४३.२ ओभरमा १९२ रन बनाउँदै अलआउट भयो । नवलपुरका लागि दीपक डुम्रेले सर्वाधिक ३६, गौरव विश्वकर्माले २६ र अनिश गुरुङले १५ रन जोडे पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कास्कीका लागि बलिङमा कृष्ण पौडेलले घातक बलिङ गर्दै ४ विकेट लिए । कप्तान विपिन खत्री र सुभाष भण्डारीले २–२ विकेट तथा सिब्रिन श्रेष्ठले १ विकेट हात पारे ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कास्कीका अर्जुन कुमाल ‘प्लेयर अफ द सिरिज’ र ‘उत्कृष्ट ब्याटर’ घोषित भए । उनले प्रतियोगिताका खेलहरूमा दुई शतकसहित कुल ३२७ रन बनाएका थिए । यस्तै, सर्वाधिक १२ विकेट लिएका कास्कीकै विपिन खत्री ‘उत्कृष्ट बलर’ चुनिए ।
विजेता तथा उपविजेता टोली र खेलाडीहरूलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय सदस्य सुदीप शर्मा, प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल, उपाध्यक्ष प्रकाश पौडेल र सचिव सुमनराज कार्कीलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
गत फागुन २७ गतेदेखि सुरु भएको यस छनोट प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगितामा देखाएको प्रदर्शनका आधारमा उत्कृष्ट २४ खेलाडी छनोट गरी उनीहरूलाई आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा सहभागी गराइने प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।