स्वास्थ्य र खेलकुदको सन्देशसहित विद्यालयका भित्तामा ‘मिथिला कला’ : विद्यार्थीको सिर्जनात्मक प्रयास
काठमाडौँ, चैत ४ । काठमाडौँको कोटेश्वरस्थित सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू यतिबेला प्राचीन मिथिला कलाले रङ्गीन र आकर्षक बनेका छन् । काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत विद्यालयका विद्यार्थीहरूले आफ्नै सिर्जनाले विद्यालय परिसरलाई नयाँ स्वरूप दिएका हुन्।
‘बुक–फ्री फ्राइडे’ (पुस्तकविहीन शुक्रबार) कार्यक्रमअन्तर्गत कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरूले विशेष भित्तेचित्र कार्यशालामा सहभागी भई यी चित्रहरू निर्माण गरेका हुन्। नौवटा सत्र (प्रत्येक तीन घण्टा) सम्म सञ्चालित यस कार्यशालामा विद्यार्थीहरूले पाठ्यपुस्तकको सैद्धान्तिक ज्ञानभन्दा बाहिर निस्केर मिथिला चित्रकलाको प्रयोगात्मक अभ्यास गर्ने अवसर पाएका थिए ।
यस पटकको कार्यशालाको मुख्य विषयवस्तु ‘स्वास्थ्य र खेलकुद’ रहेको थियो। विद्यार्थीहरूले हात धुने अभ्यास, सरसफाइको महत्त्व र शारीरिक तथा मानसिक विकासका लागि खेलकुदको भूमिकालाई चित्रका माध्यमबाट उतारेका छन्। चित्रहरूमा माछा, कमलको फूल र परम्परागत मिथिला बुट्टाहरूको कलात्मक संयोजन गरिएको छ, जसले आधुनिक स्वास्थ्य सन्देशलाई सांस्कृतिक पहिचानसँग जोडेको छ ।
मिथिला कलाकार सुभद्री सुभाको प्रशिक्षणमा सञ्चालित यस कार्यक्रममा विद्यार्थीहरूले निकै उत्साहका साथ सहभागिता जनाएका थिए। कलाकार सुभाका अनुसार, विद्यार्थीहरूले विद्यालयको नियमित समयबाहेक शनिबार र अन्य बिहानको समयमा समेत स्वस्फूर्त रूपमा चित्रकलामा समय खर्चेका थिए ।
“सरकारी विद्यालयका साना बालबालिकाहरूमा देखिएको यो उत्साह निकै लोभलाग्दो थियो,” कलाकार सुभाले भन्नुभयो, “उनीहरूले रङ भर्ने र बुट्टा भर्ने अधिकांश काम आफैँ गरेका छन् । यसले उनीहरूको सिर्जनशीलता प्रस्फुटन गर्न र शारीरिक खेलले दिमाग कसरी तेज हुन्छ भन्ने बुझ्न मद्दत पुगेको छ ।”
यो पहलले विद्यार्थीहरूमा कलाप्रतिको रुचि जगाउनुका साथै नेपाली मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। विद्यालयका यी भित्ताहरू अब केवल चित्र मात्र नभई स्वास्थ्य र स्वच्छतासम्बन्धी जीवन्त शैक्षिक सामग्रीका रूपमा स्थापित भएका छन् ।
हाल काठमाडौँ महानगरपालिकाभित्रका दर्जनौँ विद्यालयहरूमा विद्यार्थीहरूलाई चित्रकला, मूर्तिकला र भित्तेकलाजस्ता विविध विधामा आबद्ध गराई उनीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने कार्य भइरहेको छ ।