सुनचाँदीको मूल्यमा निरन्तर गिरावट : सुन तोलामा ५,४०० रुपैयाँले घट्यो

काठमाडौं, ५ चैत । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्ला दिनहरूदेखि निरन्तर ओरालो लागिरहेको सुन आज एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँले घटेको हो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्य घटेर प्रतितोला ५ हजार १० रुपैयाँ तोकिएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७ सय र चाँदी ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार भने सुनको मूल्य ३ लाख ९ हजार ९ सय र चाँदी ५ हजार ३३५ रुपैयाँ रहेको थियो । पछिल्ला तीन दिनको तथ्याङ्क हेर्दा नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार ओरालो लागिरहेको छ ।

नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव यहाँ परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ९०० अमेरिकी डलर र चाँदी प्रतिऔँस ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।