बैंकिङ र विकास बैंक उपसमूहमा उछाल : नेप्से ६४ अङ्कले बढ्दा कारोबार रकम २१ अर्ब नाघ्यो
काठमाडौं, ५ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) उच्च अङ्कले बढेर बन्द भएको छ । बैंकिङ र विकास बैंक उपसमूहमा लगानीकर्ताको उच्च आकर्षण देखिँदा समग्र बजारमा हरियाली छाएको हो ।
बिहीबार नेप्से परिसूचक ६४.६९ अङ्कले बढेर २८७७.०३ विन्दुमा उक्लिएको छ । त्यसैगरी, ठूला र बलिया कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.६३ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स ४.८५ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.१४ अङ्कले उकालो लागेको छ ।
नेप्से परिसूचकमै मात्र नभई कारोबार रकममा पनि बिहीबार उत्साहजनक वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन (मंगलबार) जम्मा १२ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बिहीबार एकैदिन २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार बिहीबार कुल ३४२ कम्पनीका ५ करोड ६९ लाख २० हजार कित्ता सेयर १ लाख ९१ हजार २५१ पटक किनबेच भएका छन् ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेर समग्र बजार सकारात्मक बनेको छ । सबैभन्दा बढी विकास बैंक उपसमूहको परिसूचक ३.९५ प्रतिशतले वृद्धि भएको छ भने बैंकिङ उपसमूह ३.१६ प्रतिशतले बढेको छ ।
त्यसैगरी, जलविद्युत् र जीवन बीमा उपसमूह २ प्रतिशतभन्दा बढीले बढेका छन् । वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचकमा पनि १ प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ ।
बिहीबार चारवटा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ । त्यस्तै, होटल फरेस्ट इन लिमिटेडको सेयर मूल्य करिब १० प्रतिशत र सान्जेन जलविद्युत् कम्पनीको मूल्य ८ प्रतिशतले बढेको छ ।
यसविपरीत, नेपाल लाइफ समृद्धि लगानी योजनाको एकाइ मूल्य सबैभन्दा बढी ५.१२ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको मात्रै ६७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
त्यसपछि नेसनल हाइड्रोपावरको करिब ६७ करोड रुपैयाँ र रिडी हाइड्रोपावरको साढे ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।