बागलुङका १४ स्थानमा नदी नियन्त्रण कार्य सुरु: बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गरिँदै

काठमाडौँ, चैत ८ । बागलुङ जिल्लाका विभिन्न १४ स्थानमा यस चालु आर्थिक वर्षभित्र बस्ती संरक्षणका लागि तटबन्ध निर्माण कार्य सुरु गरिएको छ । वर्षायाममा हुन सक्ने नदी कटान र बाढीको जोखिमलाई न्यूनीकरण गर्दै स्थानीय बस्तीलाई सुरक्षित बनाउने उद्देश्यले यी योजनाहरू अगाडि बढाइएका हुन् ।

गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बागलुङमार्फत नदी नियन्त्रण तथा तटबन्धका योजनाहरू कार्यान्वयन भइरहेका छन् । कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाका २५ स्थानमा तटबन्ध निर्माण गरिएको थियो भने यस वर्ष थप १४ योजनाहरू छनोटमा परेका छन् ।

यस वर्ष जिल्लाका पाँचवटा स्थानीय तहमा तटबन्ध निर्माण गरिँदै छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी सुवोध नेपालका अनुसार यी १४ वटा योजनाका लागि कुल १ करोड ३० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । “अधिकांश योजनाहरूको सम्झौता भई काम सुरु भइसकेको छ भने केही योजनाहरू सम्झौताको अन्तिम चरणमा रहेका छन्,” उहाँले जानकारी दिनुभयो ।

वर्षाको समयमा साना तथा ठूला खोलामा पानीको सतह बढ्दा तटीय क्षेत्रका बस्तीहरू जोखिममा पर्ने गरेका छन् । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले पछिल्ला वर्षहरूमा बस्ती संरक्षणलाई प्राथमिकतामा राखेर नगरपालिका र प्रदेश सरकारको समन्वयमा दरमखोला र गौदीखोला जस्ता जोखिमपूर्ण क्षेत्रमा तटबन्धको कामलाई तीव्रता दिइएको बताउनुभयो ।

यो पूर्वाधार निर्माणसँगै नदी किनारका सयौँ घरधुरी र खेतीयोग्य जमिन कटानको जोखिमबाट सुरक्षित हुने विश्वास लिइएको छ ।