कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि उदयपुरको बसाहा क्लबलाई

काठमाडौँ, चैत ८ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि उदयपुरको बसाहा क्लबले जितेको छ । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा सङ्खुवासभाको लोहोरुङ् एफसीलाई १–० को कठिन अन्तरले पराजित गर्दै बसाहाले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधिसँगै विजेता बसाहा क्लबले नगद चार लाख चार हजार पुरस्कार, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेतामा सीमित बनेको लोहोरुङ् एफसीले रु दुई लाख दुई हजारमा चित्त बुझाएको आयोजक द योङग ब्रदर्स क्लबका सचिव विज्ञान राईले जानकारी दिनुभयो ।

बसाहा क्लबको जितमा रितेश तामाङ नायक बने । उनले खेलको २६औँ मिनेटमा गरेको उत्कृष्ट गोल नै निर्णायक सावित भयो । तामाङ खेलको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुँदै नगद २० हजार रुपियाँ पुरस्कार हात पार्न सफल भए । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ भने उपविजेता टोली लोहोरुङ् एफसीका मिलन लिम्बु घोषित भए, उनले पाँच हजार पाँच सय रुपियाँ प्राप्त गरे ।

प्रतियोगिताको अन्य विधागत पुरस्कारतर्फ बसाहा क्लबकै बर्चस्व रह्यो । बसाहाका मञ्जिल खड्का ‘उत्कृष्ट डिफेन्डर’, सन्दीप भट्टराई ‘उत्कृष्ट गोलकिपर’ र केशव राई ‘उत्कृष्ट प्रशिक्षक’ चुनिए । लोहोरुङ् एफसीका विवेक राई ‘उत्कृष्ट मिडफिल्डर’ घोषित हुँदा आयोजक द योङग ब्रदर्स क्लबका सविन घिमिरे ‘उदीयमान खेलाडी’ बने । विधागत उत्कृष्ट सबैले जनही १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

गत फागुन ३० गतेदेखि सञ्चालित यस प्रतियोगितामा नेपालका सात र भारतको एक गरी कूल आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा केराबारी फुटबल क्लब (मोरङ), जलथल फुटबल क्लब (झापा), चुतन स्पोर्टिङ क्लब (तेह्रथुम), न्यू स्टार क्लब (बराहक्षेत्र), आयोजक द योङग ब्रदर्स क्लब र भारतको कञ्चनजङ्घा फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए ।