ठमेलको ऐतिहासिक र सांस्कृतिक वैभव झल्काउने ‘ठमेलका सम्पदाहरु’ पुस्तक विमोचन
काठमाडौँ, चैत ८ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेल क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूलाई समेटेर तयार पारिएको ‘ठमेलका सम्पदाहरु’ नामक पुस्तकको आज एक समारोहबीच विमोचन गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाको सक्रियतामा नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा प्रकाशित यस पुस्तकको खोज तथा अनुसन्धान प्रकृति अधिकारीले गर्नुभएको हो । पुस्तकमा ठमेलभित्र रहेका एक दर्जनभन्दा बढी महत्त्वपूर्ण सम्पदाहरूको ऐतिहासिक र पुरातात्विक पक्षबारे विस्तृत चर्चा गरिएको छ ।
विशेष गरी ठमेलेश्वर मन्दिर, मैत्रीपुर महाविहार, नाट्टेश्वर, त्रिदेवी मन्दिर, अशोक चैत्य र भगवान बहालका विषयमा पुस्तकमा सविस्तार वर्णन गरिएको छ । यसका साथै भगवती मन्दिर, भीमसेनपाटी, गाःहिटी, गुणाकर महाविहार, करुणापुर महाविहार, तःहिटी चैत्य र श्री गाहा चैत्य जस्ता सम्पदाहरूको ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्थाबारे पनि अनुसन्धानमूलक सामग्री समावेश छन् ।
ठमेल केवल व्यापारिक केन्द्र मात्र नभई नेपालको जीवित सांस्कृतिक सम्पदाको महत्वपूर्ण क्षेत्र पनि हो । यहाँ प्राचीन परम्परा, नेवार संस्कृति र बौद्ध तथा हिन्दू आस्थाको अनुपम सङ्गम पाइन्छ । यहाँका गल्लीहरूमा झल्कने हस्तकला, परम्परागत वास्तुकला र स्थानीय मौलिक उत्सवहरूले यस क्षेत्रको सांस्कृतिक गहिराइलाई पुष्टि गर्दछन् ।
पुस्तक विमोचन समारोहमा परिषद्का उपाध्यक्ष सहदेव धमलाले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई ठमेलको ऐतिहासिक र सांस्कृतिक महत्वबारे सप्रमाण जानकारी दिन यो पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, नीति अनुसन्धान प्रतिष्ठान नेपालका अध्यक्ष डा. प्रेमराज न्यौपानेले ठमेलको सांस्कृतिक वैभवलाई विश्वमाझ उजागर गर्न यस्ता अनुसन्धानमूलक कृतिले ठूलो सहयोग पुर्याउने बताउनुभयो । कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष डा. रामशरण थपलिया र काठमाडौँ महानगरपालिका–२६ का पूर्व वडाअध्यक्ष विश्वम्भरलाल प्रधानलगायतले ठमेलका ओझेलमा परेका सम्पदालाई सार्वजनिक गर्ने कार्यको प्रशंसा गर्नुभएको थियो ।