स्वास्थ्य क्षेत्रका समस्या पहिचान गरी समाधानको ठोस कदम चालिएको छ – स्वास्थ्यमन्त्री डा. गौतम

काठमाडौँ, चैत ८ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य क्षेत्रमा विद्यमान समस्याहरूको सुक्ष्म पहिचान गरी समाधानका लागि प्रभावकारी कदम चालिएको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित कर्मचारीहरूसँगको अन्तर्क्रिया तथा बिदाइ कार्यक्रममा बोल्दै मन्त्री गौतमले औषधि तथा उपकरण खरिद प्रक्रिया, औषधि व्यवस्थापन र स्वास्थ्य बीमाका क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न सुरु गरिएको जानकारी दिनुभयो।

आफ्नो कार्यकालको समीक्षा गर्दै मन्त्री गौतमले चुनौतीपूर्ण अवस्थामा मन्त्रालयको नेतृत्व सम्हालेको उल्लेख गर्दै प्राथमिकतामा राखिएका कार्यहरूले सार्थक परिणाम हासिल गरेको दाबी गर्नुभयो। “मन्त्रालयको जिम्मेवारी सम्हाल्दा यहाँका कामहरू चुनौतीपूर्ण छन् भन्ने मलाई ज्ञात थियो, तर यहाँ उत्तिकै सम्भावना पनि थिए,” उहाँले भन्नुभयो, “आज निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। यस घडीमा मन्त्रालयबाट बिदा हुँदै गर्दा तपाईंहरूको सहयोग र हामीले सँगै हासिल गरेका प्रगतिप्रति म कृतज्ञता व्यक्त गर्दछु।”

मन्त्री गौतमले आफ्नो कार्यकालमा मानसिक स्वास्थ्य, आप्रवासी कामदारको स्वास्थ्य सुरक्षा र उच्च जोखिममा रहेका प्रदेशहरूमा मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि विशेष पहल गरिएको बताउनुभयो। स्वास्थ्य बीमाका सन्दर्भमा उहाँले भन्नुभयो, “बीमा प्रणालीभित्र झन्डै एक दशकदेखि थुप्रिएका विसङ्गतिहरूलाई केलाएर सुधारका कार्य अगाडि बढाइसकेका छौँ, जसले गर्दा यस क्षेत्रले भोग्दै आएको आर्थिक समस्या केही हदसम्म कम हुनेछ।”

पाँच महिनाको अवधिमा औषधि व्यवस्था विभागको स्तरोन्नति, राष्ट्रिय औषधि प्रयोगशालाको नयाँ भवन निर्माणको गुरुयोजना र मन्त्रालयमा ‘औषधि मामिला महाशाखा’ स्थापनाको प्रारूप तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो। यी कदमहरूले भविष्यमा औषधिको गुणस्तर सुनिश्चितता, मूल्य नियन्त्रण र नवप्रवर्तनमा ठूलो योगदान पुग्ने मन्त्री गौतमको विश्वास छ। साथै, उहाँले देशभरका सबै सङ्घीय अस्पतालहरूमा मनोपरामर्श केन्द्र स्थापना गरिएको विषयलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा उल्लेख गर्नुभयो।

उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिवद्वय डिल्लीराम शर्मा र डा. विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केदारबहादुर ढकाल, मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी लगायत विभिन्न केन्द्र तथा अस्पतालका निर्देशकहरूको उपस्थिति रहेको थियो।