सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी तीव्र: महानगरद्वारा अनुदान रकम दोब्बर, सुरक्षा र व्यवस्थापनमा विशेष जोड

काठमाडौँ, चैत ८ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक गरिमा बोकेको ‘जनबहाः द्य’ (सेतो मच्छिन्द्रनाथ) को रथयात्रालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न काठमाडौँ महानगरपालिकाले विशेष सक्रियता देखाएको छ । रथयात्राको तयारीका सम्बन्धमा आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा सरोकारवाला निकायहरूको समीक्षा बैठक सम्पन्न भएको छ ।

बैठकमा रथयात्रा मार्गको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक समन्वय, सरसफाइ, शान्ति सुरक्षा र जात्राको मौलिकता प्रवर्द्धनका विषयमा विस्तृत छलफल भयो । सो अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले जात्रा सञ्चालनका लागि महानगरपालिकाले दिँदै आएको वार्षिक अनुदान १० लाख रुपियाँबाट वृद्धि गरी २० लाख पुर्‍याइएको घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “यस ऐतिहासिक उत्सवलाई श्रद्धालुहरूका लागि सहज र गरिमामय बनाउनु हामी सबैको साझा दायित्व हो ।”

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जात्राको सुरक्षा प्रबन्धलाई अत्यन्तै चुस्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जात्रा मार्गका सडक मर्मत र सरसफाइको जिम्मेवारी महानगरले प्रभावकारी रूपमा पूरा गर्ने बताउनुभयो । यस्तै, सेतो मच्छिन्द्रनाथका मूल पुजारी नीलकाजी शाक्यले यस जात्राको सांस्कृतिक सन्देश विश्वमाझ पुर्‍याउनु पर्नेमा जोड दिनुभयो ।

यस्तो छ जात्राको कार्यतालिका:
जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव वज्राचार्यका अनुसार यस वर्ष चैत १२ गते केलटोलबाट खट यात्रा सुरु भई जमलस्थित तीनधारा पाठशाला अगाडिबाट रथयात्रा प्रारम्भ हुनेछ ।

  • चैत १२ गते: जमलबाट रथ तानेर असन पुर्‍याइनेछ । सोही राति सम्माननीय राष्ट्रपतिबाट दर्शन गर्ने कार्यक्रम रहेको छ ।

  • चैत १३ गते: असनबाट हनुमानढोका पुर्‍याइने

  • चैत १४ गते: हनुमानढोकाबाट लगन पुर्‍याइने 

  • चैत १५ गते: लगनमा मच्छिन्द्रनाथकी आमाको रुख परिक्रमा गराइने 

  • चैत १६ गते: रथबाट मूर्तिलाई खटमा राखेर पुनः जनबहाल पुर्‍याई जात्राको समापन गरिनेछ 

वर्षा र सहकालका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मनाइने गरिन्छ । जमलको खेतमा मूर्ति फेला परेको पौराणिक कथासँग जोडिएको यो जात्राले काठमाडौँका ९ वटा वडाहरूलाई समेट्ने गर्दछ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिने करुणामयको यो जात्राले आपसी सद्भाव र समृद्धिको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ ।

बैठकमा रथ निर्माणको प्राविधिक दस्ताबेज सार्वजनिक गरिनुका साथै गुठी संस्थानका प्रशासक शैलेश कुँवर, सुरक्षा निकायका प्रतिनिधिहरू र स्थानीय क्लबका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।