लगातार तेस्रो दिन बढ्यो नेप्से : झन्डै १५ अर्बको कारोबार
काठमाडौँ, १० चैत । शेयर बजारमा यो साता लगातार तेस्रो दिन उत्साह छाएको छ। आज (मङ्गलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८३ अङ्कले बढेर २,९६०.४० को विन्दुमा पुगेर बन्द भएको छ।
बजार बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। नेप्सेका अनुसार आज ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर १ लाख २६ हजार ९४७ पटक खरिद–बिक्री भएका छन्। जसबाट बजारमा कुल १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ रुपैयाँ बराबरको ठुलो कारोबार भएको छ।
आजको कारोबारमा ‘व्यापार समूह’का लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस समूहको उपसूचक ९.१२ प्रतिशतले बढेको छ।
त्यसैगरी, विकास बैङ्क १.३८ प्रतिशत, बैङ्किङ ०.६७, वित्त ०.५१, लगानी ०.११, उत्पादन तथा प्रशोधन ०.८६ र म्युचुअल फन्ड ०.२५ प्रतिशतले बढेका छन्। यता, लघुवित्त समूह सबैभन्दा धेरै ०.४६ प्रतिशतले घटेको छ। साथै, निर्जीवन बीमा ०.३८, जीवन बीमा ०.३७ र अन्य समूह ०.१६ प्रतिशतले ओरालो लागेका छन्।
आजको बजारमा सलपा विकास बैङ्क लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। यी दुवै कम्पनीको शेयर मूल्य उच्च अङ्कले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको शेयर मूल्य ६.५६ प्रतिशतले घटेको छ।
रकमका आधारमा आज रादी विद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। यस कम्पनीको सर्वाधिक ६७ करोड ४३ लाख ८४ हजार ३४१ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।
त्यसैगरी, शेयर सङ्ख्या (भोल्युम) का आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को संस्थापक शेयर सबैभन्दा धेरै २० लाख २७ हजार ९९२ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।