‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ, चैत ९ । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदैछ। सन् १९५० मार्च २३ मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको स्मरण गर्दै सन् १९६१ देखि हरेक वर्ष विश्वभर यो दिवस मनाउने गरिएको हो ।

यस अवसरमा जल तथा मौसम विज्ञान विभागले मौसमसम्बन्धी जनचेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको प्रभावकारिता र जलवायु परिवर्तनका कारण सिर्जित जोखिम न्यूनीकरणका उपायहरूका बारेमा विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रमहरू तय गरेको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीले जानकारी दिए अनुसार, यस वर्षको दिवसले आधुनिक मौसम पूर्वानुमान प्रणालीको महत्त्व र यसले जनधनको सुरक्षामा पुर्‍याउन सक्ने योगदानमा जोड दिएको छ। उहाँले जलवायु जोखिम न्यूनीकरणका लागि भरपर्दो सूचना र पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रत्येक वर्ष मार्च २३ का दिन मनाइने यस दिवसले मानव जीवन, कृषि क्षेत्र, जलस्रोत व्यवस्थापन र विपद् व्यवस्थापनमा जल तथा मौसम विज्ञानको महत्त्वपूर्ण भूमिकाबारे विश्वव्यापी रूपमा सचेतना फैलाउँदै आएको छ। विशेषगरी जलवायु परिवर्तनको प्रत्यक्ष असर परिरहेको वर्तमान समयमा यस्ता दिवसहरूको सान्दर्भिकता झन् बढेर गएको विज्ञहरूले बताएका छन्।