सुनको मूल्य एकै दिन साढे ६ हजारले घट्यो, साताभरमा ३४ हजार सस्तियो

काठमाडौं, ९ चैत । नेपाली बजारमा सुनको मूल्यमा लगातार भारी गिरावट आइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ। यसअघि आइतबार पनि सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको थियो।

महासंघले सोमबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ। आइतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो एक साताको तथ्याङ्क हेर्दा सुनको मूल्यमा ३४ हजार रुपैयाँको ठूलो गिरावट आएको छ। गत साताको सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। स्मरण रहोस्, गत माघ १५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। हाल सुन आफ्नो उच्च विन्दुबाट निकै तल झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक तथा भू–राजनीतिक उतारचढावका कारण सुनको मूल्यमा तीव्र गिरावट आएको हो। विशेषगरी पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण विश्व बजारमा कच्चा तेलको मूल्य महँगिएको छ। तेल खरिदका लागि अमेरिकी डलरको माग उच्च भएपछि डलर बलियो बन्दै गएको छ।

डलरको जोहो गर्न विश्वभरका लगानीकर्ताहरूले आफूसँग भएको सुन बिक्री गर्न थालेपछि अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य ओरालो लागेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *