कपिलवस्तु तनाव अझै साम्य भएनः तीन प्रदर्शनकारी पक्राउ

कपिलवस्तु, ९ चैत । दक्षिणी कपिलवस्तुमा मन्दिर तोडफोडको विषयलाई लिएर दुई समुदायबीच सुरु भएको विवाद तीन दिन बितिसक्दा पनि साम्य हुन सकेको छैन। स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा (कर्फ्यु) जारी राखेको छ भने सोमबारको प्रदर्शनबाट थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिकास्थित वरगदा गाउँमा मन्दिर तोडफोड भएको विषयबाट विवादको विजारोपण भएको थियो। शनिबार आक्रोशित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर चार जना घाइते भएका थिए। उक्त घटनाको विरोधमा हिन्दू सङ्गठनहरूले सोमबार कपिलवस्तु बन्दको आह्वान गर्दै विभिन्न स्थानमा प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा अन्तर्राष्ट्रिय हिन्दू परिषद् नेपालका राष्ट्रिय प्रभारी मनोज शुक्ला, जिल्ला अध्यक्ष वीरेन्द्र चौधरी र विश्व हिन्दू परिषद् नेपालका जिल्ला उपाध्यक्ष सुनिल तिवारी पक्राउ परेको स्थानीय पत्रकार नारद कोहारले जानकारी दिए। प्रदर्शनकारीहरूले आइतबारको प्रदर्शनमा समेत प्रहरीले कुटपिट तथा दमन गरेको आरोप लगाएका छन्।

हिन्दू सङ्गठनहरूको बन्द आह्वान र जिल्लामा उत्पन्न विषम परिस्थितिका कारण कपिलवस्तु नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरू बन्द गरिएका छन्। विद्यालय बन्द हुँदा सञ्चालन भइरहेका वार्षिक परीक्षाहरू पनि अनिश्चितकालका लागि स्थगित भएका छन्।

बढ्दो तनावका बीच जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले संयमता अपनाउन र सामाजिक सञ्जालको दुरुपयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।