४० हजार दुग्ध किसान मारमा : ६ महिनादेखिको ५५ करोड भुक्तानी रोकियो
चितवन, १० चैत । दूध बिक्री गरेबापत पाउनुपर्ने करोडौँ रकम लामो समयदेखि नपाउँदा चितवनका दुग्ध उत्पादक किसान गम्भीर मारमा परेका छन्। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) सहित ठूला डेरी उद्योगहरूले विगत ६ महिनादेखिको करिब ५५ करोड रुपैयाँ भुक्तानी रोकेपछि किसानहरू रित्तो हात बस्न बाध्य भएका हुन्।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार, गत कात्तिकदेखि किसानले दूधको पैसा पाएका छैनन्। “बजारमा दूध बिक्री नभएको वा नबिकेको अवस्था होइन, तर ठूला उद्योगले भुक्तानी रोकिरहेका छन्,” अध्यक्ष बगालेले भने, “सरकारी संस्थानको ६ महिनादेखि र अन्य ठूला निजी उद्योगको तीन महिनादेखिको भुक्तानी बाँकी छ।”
उनका अनुसार साना डेरी उद्योगहरूले भने नियमित रूपमा रकम भुक्तानी गरिरहेका छन्। तर, ठूला उद्योगले एकमुष्ट पैसा रोक्दा जिल्लाका ११५ वटा दुग्ध उत्पादक सहकारी सङ्घलाई किसानको हातमा पैसा थमाउन कठिन भएको छ।
चितवनको दुग्ध उत्पादन :
दैनिक उत्पादन : ३ लाख ५० हजार लिटर
जिल्लाबाहिर निर्यात : ५० प्रतिशतभन्दा बढी
सक्रिय दुग्ध सहकारी : ११५ वटा
आश्रित किसान : करिब ४० हजार
जिल्लामा दैनिक सङ्कलन हुने साढे ३ लाख लिटर दूधमध्ये आधाभन्दा बढी (५० प्रतिशतभन्दा धेरै) दूध चितवनबाहिरका ठूला सहर र उद्योगहरूमा जाने गरेको छ।
सहकारीमार्फत हरेक दिन दूध बेचेरै घरखर्च चलाउने, छोराछोरी पढाउने र गाईभैँसीको दानापानी जुटाउने जिल्लाका ४० हजार किसान भुक्तानी नपाउँदा अहिले पेसाबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेका छन्।