नेप्सेमा ५ अङ्कको सामान्य सुधार, कारोबार रकम भने १५ अर्बमा झर्यो

काठमाडौँ, ९ चैत्र । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। अघिल्ला दुई दिन उच्च अङ्कले बढेको बजारमा सोमबार ‘इन्ट्रा डे करेक्सन’ हुँदै अन्तिम समयमा ५.०१ अङ्कको वृद्धि भएको हो।

बजार खुलेको अधिकांश समय नकारात्मक (रातो) रहेको नेप्से कारोबारको अन्तिम प्रहरमा भने सम्हालिँदै २९३६.५६ को बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.२८ अङ्कले घटेको छ भने फ्लोट इन्डेक्स ०.२७ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०३ अङ्कले बढेको छ।

नेप्सेको अङ्क सामान्य बढे पनि सोमबार कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिन (आइतबार) २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा सोमबार कारोबार रकम १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ।

यस दिन नेप्सेमा सूचीकृत ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर १ लाख ५६ हजार ३८१ पटक खरिदबिक्री भएका थिए।

यस दिन ४ वटा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट (करिब १० प्रतिशत वृद्धि) लागेको छ।

त्यस्तै, मनकामना इन्जिनियरिङ र होटल फरेस्ट इनको सेयर मूल्य करिब १० प्रतिशत तथा फस्ट माइक्रोफाइनान्सको मूल्य करिब ९ प्रतिशतले बढेको छ। सोमबार मूल्य घट्ने कम्पनीहरूको गिरावट दर भने ४ प्रतिशतभन्दा कम नै रहेको छ।

कारोबार रकमका आधारमा सोमबार कुमारी बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको ६७ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसैगरी, शिवम् सिमेन्ट्सको साढे ६० करोड र नेसनल हाइड्रोपावरको ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये ७ वटाको सूचक बढ्दा ६ वटाको घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहमा सर्वाधिक १.५३ प्रतिशतको वृद्धि देखिएको छ भने जलविद्युत् र म्युचुअल फन्ड उपसमूह करिब १ प्रतिशतले बढेका छन्। यता, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र व्यापार उपसमूहका सूचक भने सामान्य अङ्कले ओरालो लागेका छन्।