साफ यू-२० च्याम्पियनसिप: उद्घाटन खेलमा भुटानमाथि नेपालको विजयी सुरुवात

काठमाडौँ,  चैत ९ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आजदेखि सुरु भएको बीस वर्षमुनिको (यू-२०) साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो ।

नेपालको जितका लागि सुजन डङ्गोल र सुवास वमले समान एक-एक गोलको योगदान दिनुभयो। खेल सुरु भएको पाँचौँ मिनेटमै सुजन डङ्गोलले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप आक्रामक खेल प्रदर्शन गर्‍यो।

खेलको ५२औँ मिनेटमा सुवास वमले गोल गर्दै नेपालको अग्रतालाई २–० को स्थितिमा पुर्‍याउनुभयो। खेलको अन्त्यतिर भुटानले पुनरागमनको प्रयास गरेको थियो । ८३औँ मिनेटमा भुटानका धेनदुप ग्यालसेनले एक गोल फर्काउँदै खेललाई २–१ मा ल्याए पनि त्यसपछि थप गोल हुन सकेन ।

अन्ततः भुटानमाथि रोमाञ्चक जित दर्ता गर्दै नेपालले प्रतियोगितामा महत्त्वपूर्ण तीन अङ्क जोड्न सफल भएको छ। यस जितले नेपाली युवा टोलीको आगामी खेलका लागि आत्मविश्वास बढाएको छ ।