पाथीभरा दर्शनमा ल्याइएका अढाइ वर्षीय बालकको मृत्यु

काठमाडौँ, चैत ९ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाथीभरा मन्दिरको दर्शनका लागि ल्याइएका एक बालकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका अढाइ वर्षीय छोरा सोहन श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार अभिभावक र आफन्तसँगै पाथीभरा आएका बालक मन्दिर दर्शन गरी फर्कने क्रममा बाटोमै अचानक बिरामी परेका थिए। बिरामी बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको भए तापनि उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान र जानकारी अनुसार बालक पहिलेदेखि नै निमोनियाबाट पीडित रहेको बुझिएको छ। उच्च हिमाली क्षेत्रको प्रतिकुल मौसम र स्वास्थ्य अवस्थाका कारण यो दुखद घटना भएको अनुमान गरिएको छ ।