काठमाडौँ नगर शिक्षा समितिको बैठक : ८ वर्षका निर्णयहरूको समीक्षा र ६ नयाँ कार्यविधि तर्जुमा गर्ने निर्णय
काठमाडौँ, चैत ९ । काठमाडौँ नगर शिक्षा समितिको बैठकले वि.सं. २०७४ सालदेखि हालसम्म भएका निर्णयहरूको कार्यान्वयन अवस्थाको विस्तृत समीक्षा गर्दै शैक्षिक तथा प्रशासनिक सुव्यवस्थाका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख एवं समिति अध्यक्ष सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बैठकमा शिक्षा अधिकृत केशव ज्ञवालीले विगत ८ वर्षमा भएका मुख्य निर्णय र तिनको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समीक्षाका क्रममा महानगरलाई साक्षर नगर घोषणा गर्ने, विद्यालयको नाम नेपाली, अंग्रेजी र नेपाल भाषामा लेख्नुपर्ने निर्देशन, तहगत प्रधानाध्यापक व्यवस्थापन र संस्थागत विद्यालयको शुल्क निर्धारण लगायतका निर्णयहरू कार्यान्वयनको चरणमा रहेको जानकारी दिइयो।
बैठकमा दर्ता भएर पनि सञ्चालनमा नरहेका १०७ विद्यालयमध्ये ४२ वटा सम्पर्कमा आएको र बाँकीको हकमा खारेजी प्रक्रिया अघि बढेको बताइएको छ।
अध्यक्ष डंगोलको निर्देशन र कार्यतालिका
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डंगोलले विद्यालयहरूको ‘सामाजिक नक्साङ्कन’ को कार्य १० दिनभित्र सम्पन्न गर्न शिक्षा विभागलाई निर्देशन दिनुभयो। नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै सबै तयारी पुरा गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “विद्यालयको बेरुजु घटाउन र शिक्षकहरूलाई प्रविधिमैत्री बनाउन क्षमता विकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्छ।” यस्तै, स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले विद्यार्थी भर्नासँगै विद्यालय छाड्ने (ड्रपआउट) बालबालिकाको सामाजिक कारण पहिचान गरी दिगो समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।
६ वटा नयाँ कार्यविधि तर्जुमा गरिने
बैठकले शैक्षिक र प्रशासनिक सुधारका लागि ६ वटा नयाँ कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिँदै कार्यपालिकामा प्रस्ताव लैजाने निर्णय गरेको छ।
१. सामुदायिक विद्यालय सार्वजनिक खरिद कार्यविधि
२. संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि
३. प्रारम्भिक बाल विकास तथा शिशु स्याहार केन्द्र सञ्चालन व्यवस्थापन कार्यविधि
४. विशेष शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि
५. वैकल्पिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि
६. शैक्षिक गुठी सञ्चालन व्यवस्थापन कार्यविधि
प्रशासनिक निर्णय र कार्यदल गठन
बैठकले ६ वटा विद्यालयको नाम परिवर्तन, ४ वटाको स्थान परिवर्तन र ३ वटाको स्वामित्व परिवर्तनका लागि प्राप्त निवेदनउपर ३५ दिने सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ। उजुरी प्राप्त नभएमा नियमानुसार अनुमति प्रदान गरिनेछ। यस्तै, संस्थागत विद्यालयहरूको वर्गीकरण तथा शुल्क निर्धारणका लागि शिक्षा अधिकारीको अध्यक्षतामा ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय समेत भएको छ।
प्रविधि र गुणस्तर सुधारका एजेण्डा
बैठकमा शिक्षक दरबन्दी मिलान, स्मार्ट बोर्डको प्रभावकारी प्रयोगका लागि निर्देशिका निर्माण, र सामुदायिक विद्यालयको प्राथमिक तह (कक्षा १–५) मा अंग्रेजी भाषाको सिकाइ स्तर वृद्धि गर्ने विषयमा छलफल भएको थियो। साथै, महानगरको लोकप्रिय कार्यक्रम ‘पुस्तकरहित शुक्रबार’ लाई कक्षा १०, ११ र १२ सम्म विस्तार गर्ने र तल्लो तहका कक्षासँग जोड्ने योजना समेत तय गरिएको छ।