काव्यमय साँझमा महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलको कविता : मन्तव्यमा डवली पुनरुत्थानमा जोड
काठमाडौँ, चैत ९ । काठमाडौँ महानगरपालिका वडा नं. २७ ले विश्व कविता दिवसको अवसरमा ऐतिहासिक असन डबलीमा ‘काव्यमय साँझ’ कार्यक्रम आयोजना गरी परम्परागत डबली संस्कृतिलाई पुनर्जीवन दिएको छ। साहित्य सिर्जना र प्रस्तुतिमार्फत सामाजिक सम्बन्धलाई जीवन्त बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न क्षेत्रका सर्जकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा २५ देखि ८४ वर्ष उमेर समूहका ३३ जना कवि तथा कवियत्रीहरूले नेपाली, नेपाल भाषा, अङ्ग्रेजी, उर्दू, हिन्दी र संस्कृत गरी ६ वटा भाषामा आफ्ना कविता, गीत, गजल र नजमहरू प्रस्तुत गर्नुभएको थियो। सहभागी हुनेहरूमा प्रशासक, पूर्वप्रशासक, चिकित्सक, व्यवसायी र स्थानीय नागरिकहरू रहनुभएको थियो।
कार्यक्रमको समुद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘बादल’ शीर्षकको प्रेममय कविता वाचन गर्नुभयो। सो अवसरमा उहाँले काठमाडौँका ऐतिहासिक डबलीहरूले सांस्कृतिक, साहित्यिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण नक्षत्रहरू जन्माएको चर्चा गर्दै डबली संस्कारलाई जोगाउने वडाको यस प्रयत्नको उच्च प्रशंसा गर्नुभयो।
वडा अध्यक्ष योगेश खड्गीले साहित्यको रस र प्रस्तुतिले दिने आनन्द अद्वितीय हुने भएकाले डबलीलाई सिर्जनात्मक अभिव्यक्तिको थलोका रूपमा विकास गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो। “यो काव्यमय साँझको दोस्रो संस्करण हो, यसअघि पहिलो संस्करण रानीपोखरी परिसरमा गरिएको थियो,” अध्यक्ष खड्गीले भन्नुभयो, “यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।”
वडा सदस्य सृष्टि कंसाकार तुलाधरले मानिसका भावना र शब्दलाई समाजसँग जोड्न यस्ता कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्नुभयो। यस्तै, कवि तथा चलचित्र समीक्षक प्रकाश सायमीले सन् २००२ देखि विश्व कविता दिवसमार्फत कवि मनहरूलाई समाजसँग जोड्ने विश्वव्यापी अभियानको सन्दर्भबारे जानकारी दिनुभएको थियो।
परम्परागत डबलीमा आधुनिक साहित्यको संगम गराएर आयोजना गरिएको यस कार्यक्रमले असन क्षेत्रको सांस्कृतिक गरिमालाई थप उचाइ दिएको सहभागीहरूले महसुस गरेका छन्।