हतुवागढी गाउँपालिकाको नवनिर्मित अत्याधुनिक प्रशासनिक भवन उद्घाटन : सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा

काठमाडौँ, चैत ९ । भोजपुरको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाले आजदेखि आफ्नै नवनिर्मित अत्याधुनिक प्रशासनिक भवनबाट सेवा सञ्चालन गरेको छ। एक औपचारिक समारोहबीच ३४ कोठा भएको लिफ्टसहितको चारतले नयाँ भवनको उद्घाटन गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार उक्त भवन भ्याटसहित कुल रु. ७ करोड ८७ लाख ६४ हजार ७६२ को लागतमा निर्माण सम्पन्न भएको हो । विसं २०८० मङ्सिरदेखि निर्माण सुरु गरिएको यो भवन सम्झौताबमोजिम दुई वर्षको निर्धारित अवधिमै तयार भएको हो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा यो पूर्वाधार निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले जानकारी दिनुभयो ।

नवनिर्मित भवनमा लिफ्टको व्यवस्था गरिएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सेवाग्राहीलाई कार्यालयको पहुँचमा विशेष सहजता हुने अपेक्षा गरिएको छ। यसअघि आफ्नै भवन नहुँदा गाउँपालिकाले पुरानो स्वास्थ्य चौकीको भवन र भाडाका संरचनाहरूबाट प्रशासनिक कार्य सम्पादन गर्दै आएको थियो ।

भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले अब सबै सरकारी सेवाहरू एउटै छानोमुनिबाट छिटो, छरितो र प्रभावकारी रूपमा उपलब्ध गराउने लक्ष्य लिइएको बताउनुभयो। “आफ्नै व्यवस्थित प्रशासनिक भवन नहुँदा विगतमा सेवा प्रवाहमा केही कठिनाइ थियो,” उहाँले भन्नुभयो, “अब अत्याधुनिक पूर्वाधार तयार भएसँगै नागरिकले सहज रूपमा गुणस्तरीय सेवा प्राप्त गर्ने सुनिश्चितता भएको छ ।”

यो नयाँ प्रशासनिक भवनको सञ्चालनले हतुवागढीको स्थानीय प्रशासनलाई थप सुदृढ बनाउनुका साथै स्थानीय विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।