कोशी, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १० चैत । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागमा मौसमी गतिविधि सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी तथा हिमाली भेगमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना देखिएको छ।

अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भेगमा साधारणतया बदली (बादल लाग्ने) रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी भेगमा आंशिक बदली रहनेछ। तराईमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
वर्षा र चट्याङको जोखिम रहेका क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमी सूचनाप्रति सचेत रहन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *