म्याग्दीको डाँडाखेत-राहुघाट प्रसारण लाइन : ७८ प्रतिशत भौतिक प्रगति, साढे तीन करोड मुआब्जा वितरण
काठमाडौँ, चैत १० । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ। आयोजना निर्माणका क्रममा टावर रहने जग्गाका धनीहरूलाई हालसम्म ३ करोड २९ लाख ६४ हजार रुपियाँभन्दा बढी मुआब्जा वितरण गरिसकिएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठित उपसमितिले निर्धारण गरेको दररेटअनुसार ६६ जना जग्गाधनीले मुआब्जा बुझिसकेका छन्। आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सिनाका अनुसार कुल वितरित मुआब्जामध्ये २ करोड २९ लाख २९ हजार रुपैयाँ प्रत्यक्ष मुआब्जा र बाँकी १ करोड ३४ हजार रुपियाँ ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) को कार्यविधिअनुसार गरिब, महिला, दलित तथा अशक्त परिवारलाई सामाजिक सुरक्षाबापत प्रदान गरिएको हो।
तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति दिइने
प्रसारण लाइनको तारमुनि पर्ने ‘राइट अफ वे’ (भोगाधिकार क्षेत्र) मा पर्ने निजी जग्गाका धनीहरूलाई पनि क्षतिपूर्ति दिने प्रक्रिया सुरु भएको छ। प्रसारण लाइनको बीच भागबाट दायाँ र बायाँ नौ–नौ मिटर क्षेत्रभित्र पर्ने ४५४ कित्ता जग्गा र २२ वटा घरटहराको प्रारम्भिक विवरण सङ्कलन भइसकेको छ। आयोजनाले सबस्टेशन निर्माणका लागि मालिका–७ डाँडाखेतमा ५१ रोपनी र रघुगङ्गा-३ राहुघाटमा ९० रोपनी जग्गा अधिग्रहण गरेको छ।
निर्माणको अवस्था र चुनौती
कुल ८२ वटा टावरमध्ये ७१ वटा खडा गरिसकिएको छ भने १०.५ किलोमिटर क्षेत्रमा तार तान्ने काम सम्पन्न भएको छ। आयोजना प्रमुख रोशन अग्रवालका अनुसार वन क्षेत्रको रुख कटान आदेशमा भएको ढिलाइ, भौगोलिक विकटता र केही स्थानमा मुआब्जा विवादका कारण निर्माण अवधि लम्बन पुगेको हो। हाल तेस्रो पटक थपिएको म्यादअनुसार सन् २०२६ मे सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्राविधिक रूपमा डाँडाखेत सबस्टेशनको काम ९५ प्रतिशत र राहुघाट सबस्टेशनको काम ६५ प्रतिशत सकिएको छ। निर्माणको ठेक्का पाएको भारतीय कम्पनी लार्सन एन्ड टुयुब्रो (एलएनटी) ले आगामी पाँच महिनाभित्र मुख्य कामहरू सक्ने प्रतिबद्धता जनाएको छ।
आयोजनाले प्रभावित क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सीपमूलक तालिम र भौतिक सहयोग उपलब्ध गराएको छ । १५ जनालाई सवारी चालक, १५ जनालाई हाउसवायरिङ र सामुदायिक वनका उपभोक्तालाई गैरकाष्ठ वनपैदावार सम्बन्धी तालिम दिइएको छ । साथै, प्रभावित क्षेत्रका १८ विद्यालय, मठमन्दिर र आमा समूहहरूलाई शैक्षिक तथा निर्माण सामग्री सहयोग गरिएको छ ।
कुल ४ अर्ब ८८ करोड रुपियाँ लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंकको ३ करोड १० लाख डलर ऋण र नेपाल सरकारको लगानी रहेको छ। म्याग्दी र राहुघाट नदी बेसिनमा निर्माणाधीन करिब १७३ मेगावाट क्षमताका विभिन्न जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न यो आयोजना मेरुदण्ड सावित हुनेछ। राहुघाट र म्याग्दी खोलामा प्रवद्र्धित जलविद्युत् आयोजनाहरू सम्पन्न हुने क्रममा रहेकाले यो प्रसारण लाइनको निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ।