आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सुरु

काठमाडौँ, चैत १५ । पर्यटन राजधानी पोखरा आउने पर्यटकहरूको बसाइ लम्ब्याउने र आन्तरिक पर्यटनलाई थप चलायमान बनाउने उद्देश्यले कालीगण्डकी नदीमा व्यावसायिक ‘र्‍याफ्टिङ’ (जलयात्रा) सुरु गरिएको छ। पोखराका पर्यटन व्यवसायीहरूको सक्रियतामा पर्वतको जलजला गाउँपालिका-८ फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्मको खण्डमा यो साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको हो।

‘पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति’को आयोजनामा भएको उद्घाटन यात्रामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, पोखरा महानगरपालिकाका प्रतिनिधि, उद्योगी तथा सञ्चारकर्मी गरी ३८ जनाको टोली सहभागी थियो। र्‍याफ्टिङ रनर कम्पनीको प्राविधिक व्यवस्थापनमा उक्त टोलीले फर्से–नयाँपुल खण्डमा सफल जलयात्रा गरेको हो ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखराबाट सवारी साधनमा दुई घण्टाभित्रै पुग्न सकिने यो गन्तव्य प्रकृति र साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि उत्कृष्ट विकल्प हुने बताउनुभयो। उहाँका अनुसार यो मार्गमा यात्रा गर्ने पर्यटकले कुश्मा, बागलुङ, बेनी र प्रसिद्ध धार्मिक स्थल गलेश्वरको समेत अवलोकन गर्न सक्नेछन् ।

फर्सेदेखि नयाँपुलसम्मको करिब १० किलोमिटर जलयात्रा तय गर्न करिब १ घण्टा ३० मिनेट लाग्नेछ। र्‍याफ्टिङ रनरका सञ्चालक वीरेन्द्र लामाका अनुसार एउटा बोटमा एकपटकमा आठ जनाले यात्रा गर्न सक्नेछन्। आन्तरिक पर्यटकका लागि छोटो दुरीको यात्रा तय गरिए पनि विदेशी पर्यटकलाई लक्षित गरी नयाँपुलदेखि गुल्मीको रिडीसम्म तीन दिने विशेष प्याकेजसमेत सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।

विशेषगरी कात्तिक र चैत महिनालाई र्‍याफ्टिङका लागि उपयुक्त मौसम मानिन्छ। जलयात्राका क्रममा कालीगण्डकीको मनोरम दृश्य र तटीय क्षेत्रका बस्तीहरूको अवलोकनले पर्यटकलाई छुट्टै रोमाञ्चकता प्रदान गर्ने पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताउनुभयो। यसअघि समितिले मर्स्याङ्दी र सेती नदीमा समेत जलयात्राको प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरिसकेको छ ।