मध्यपूर्वमा तनाव उत्कर्षमाः इरान, इजरायल र अमेरिकाबीच शृङ्खलाबद्ध आक्रमण र प्रत्याक्रमण

एजेन्सी, १५ चैत्र । मध्यपूर्वको सुरक्षा अवस्था अत्यन्तै गम्भीर मोडमा पुगेको छ । इरान, इजरायल र अमेरिकाबीच प्रत्यक्ष सैन्य टकराव बढ्दै जाँदा आइतबार यस क्षेत्रका विभिन्न देशमा शृङ्खलाबद्ध आक्रमण र प्रत्याक्रमण भएका छन्, जसले क्षेत्रीय युद्धको जोखिम ह्वात्तै बढाएको छ ।

इरानी राज्य मिडियाका अनुसार, अमेरिका र इजरायलको संयुक्त आक्रमणमा परी रणनीतिक महत्त्वको होर्मुज जलडमरु नजिकै रहेको बन्दर खमीर सहरमा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । यसैबीच राजधानी तेहरान, विशेषगरी उत्तरी क्षेत्रमा शक्तिशाली विस्फोटका आवाज सुनिनुका साथै धुवाँको मुस्लो देखिएको छ ।

यसको जवाफमा इरानले पनि आक्रामक कदम चालेको छ । इरानले इजरायलको मध्य भागस्थित एस्ताओल गाउँमा मिसाइल प्रहार गर्दा ११ जना घाइते भएका छन् । मिसाइलले आवासीय क्षेत्रमा ठूलो खाडल बनाएको छ । सोही क्षेत्रनजिकै यसअघि भएको अर्को आक्रमणमा ९ जनाको ज्यान गएको थियो । त्यस्तै, इरानको रिभोलुसनरी गार्ड्सले अमेरिकी सैन्य संरचनासँग जोडिएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनका एल्युमिनियम उद्योगहरूमा समेत मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

युद्धको दायरा फराकिलो बन्दै जाँदा लेबनान र यमनका विद्रोही समूहहरू पनि सक्रिय भएका छन् । इजरायल–लेबनान सीमामा जारी भिडन्तमा दक्षिण लेबनानमा थप एक इजरायली सैनिक (२२ वर्षीय सार्जन्ट मोशे यिट्जचाक हाकोहेन काट्ज) को मृत्यु भएको छ । मार्च २ यता हिजबुल्लाहको रकेट आक्रमणमा परी ज्यान गुमाउने इजरायली सैनिकको संख्या ५ पुगेको छ ।

उता, इरान समर्थित यमनका हुथी विद्रोहीले पनि युद्धमा सहभागी हुने आफ्नो पूर्वचेतावनीअनुरूप इजरायलमाथि दुईवटा मिसाइल प्रहार गरेको दाबी गरेका छन् ।

वासिङ्टन पोस्टका अनुसार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सीमित स्तरको स्थलगत सैन्य कारबाहीको तयारी गरिरहेको छ । यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई औपचारिक स्वीकृति भने दिइसकेका छैनन् । योजनाअनुसार यो पूर्ण युद्ध नभई खारग टापु र होर्मुज जलडमरु आसपासका क्षेत्रमा विशेष फौज र पैदल सेनामार्फत लक्षित छापा मारिने सम्भावना छ । यसैबीच, अमेरिकाले इराकी कुर्दिस्तानका नेता नेचिरवान बर्जानीको निवासमा इरान समर्थित मिलिसियाले गरेको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ ।

बढ्दो तनावकै बीच इरानले मध्यपूर्वमा रहेका अमेरिकी विश्वविद्यालयहरूलाई धम्की दिएको छ । अमेरिका–इजरायल आक्रमणमा आफ्ना दुई विश्वविद्यालय ध्वस्त भएको भन्दै त्यसको पक्षमा नबोले अमेरिकी विश्वविद्यालयहरूलाई निसाना बनाइने चेतावनी इरानले दिएको छ ।

यसैबीच, सम्भावित खतरालाई मध्यनजर गर्दै कुवेतले आफ्नो वायु रक्षा प्रणाली सक्रिय बनाएर मिसाइल र ड्रोन आक्रमण निस्तेज पारेको जनाएको छ ।

इजरायलभित्रै युद्धको विरोधमा असन्तुष्टि चुलिएको छ । तेल अभिभलगायत सहरमा सयौँ नागरिकले युद्धविरुद्ध प्रदर्शन गरेका छन्, जसलाई सुरक्षा बलले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

अर्कोतर्फ, बढ्दो तनाव कम गर्न पाकिस्तानले कूटनीतिक मध्यस्थताको प्रयास थालेको छ । इरान र अमेरिकाबीच सन्देश आदानप्रदान गरिरहेको पाकिस्तानले साउदी अरेबिया, इजिप्ट र टर्कीका विदेश मन्त्रीहरूलाई इस्लामाबादमा आमन्त्रण गरी क्षेत्रीय स्थिरताबारे छलफल गर्ने तयारी अघि बढाएको छ ।